इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।

धरानको खानेपानीको समस्या समाधानका लागि उपमेयर अइन्द्रविक्रम बेघासहित धरानको कार्यपालिकामा रहेका राजनीतिक दलका प्रतिनिधि सहितको टोलीले अर्थमन्त्री शर्मालाई भेटेको हो । भेटका क्रममा अर्थमन्त्री शर्माले धरानको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग संघीय सरकारले गर्ने आश्वासन दिएका छन् । प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन मन्त्री शर्माले दिएका हुन् ।

जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गर्ने कार्यमा मेयर साम्पाङले देखाएको तदारुकताको मन्त्री शर्माले प्रशंसासमेत गरेका थिए । खानेपानीको मुख्य मुद्दा बोकेर उपमेयर र गठबन्धन दलको संयन्त्र सहितका नेतासँग राजधानी पुगेका मेयर साम्पाङ्गले विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै जनतालाई पानी ख्वाउनुपर्ने जिम्मा सरकारको भएको समेत बताए । 

जहिले पनि खानेपानीको मुद्दा बोकेर चुनाव लड्नुपर्ने भन्दै मेयर साम्पाङ्गले अब अर्को कार्यकालमा खानेपानीको मुद्दा बनाएर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । आफू पनि खानेपानीको मुद्दा बोकेर मेयर बनेको र योभन्दा पहिला तिलक राई पनि खानेपानीकै मुद्दा बोकेर चुनाव लडेको मेयर साम्पाङ्गले बताए । कोसी नदीको पानी चतराबाट धरानमा लैजानका लागि त्यही मुद्दा बोकेर आफू काठमाडौँ पुगेको साम्पाङ्गले बताएका छन् ।