काठमाडौँः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । 

उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजो मात्र इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका थिए ।

  त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा एक हजार एक सय ४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले गोदेर लाई नेपाली जनतालाई इजरायल सरकारले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिनु भयो । साथै उहाँले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषी , पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन् ।

मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले अहिले थुपै नेपालीले इजरायल जान चाहेकोले छिटो भन्दा छिटो उनीहरूलाई इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गरे ।