हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी मात्र घोषणा गरेको तर अन्य कुनै काम नगरेको बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आठौँ सभालाई सम्बोधन गर्दै उनले लामो समयसम्म मुख्यमन्त्री हुँदासमेत प्रदेश सरकारको प्रधान कार्यालय निर्माण हुन नसक्नु दुःखको विषय भएको भन्दै चालु आर्थिक वर्षमा आफूहरूले प्रदेश प्रधान कार्यालयको शिलान्यास गर्ने बताए ।

कार्यालयको लागि १ अर्ब ६ करोड रुपैयाँ रकम विनियोजन भएको भन्दै पाण्डेले भने ‘डोरमणि पौडेलले प्रदेशको राजधानी घोषणा मात्र गरे, अब राजधानी बनाउनको लागि राजेन्द्र पाण्डे आएको छ ।’

हेटौँडाको सडकलाई समेत फराकिलो पार्न नदिन मुख्यमन्त्री पौडेलको हात रहेको सङ्केत गर्दै उनले अब प्रदेश सरकार आफैँले अपनत्व ग्रहण गरेर सडक फराकिलो पार्ने विषयमा हात हाल्न सक्ने चेतावनीसमेत दिए ।  ‘राइट अफ वे को  कुरा बारबार उठिरहेको छ । कुनै पनि दिन प्रदेश सरकारले आफ्नो राइट अफ वे क्लियर गर्न सक्छ है भनेर सचेत गराउँछु ।’ 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले जनताले थाहा पाउने कामहरू गर्न आँटेको र त्यो सफल हुनेसमेत दाबी गरेका छन् ।