काठमाडौः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिकाइ मानव जीवनको महत्वपूर्ण अंग बन्नुपर्ने बताएका छन् ।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले अध्ययनशील हुनुपर्ने र पाठ्य सँस्कृतिलाई  प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।

उनले  सिकेका सिद्धान्त, ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्ने भन्दै स्कुल विभागले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूलाई प्रदेश र जिल्ला तहसम्म पुर्याउनुपर्ने धारणा राखे ।   अध्यक्ष नेपालले कम्युनिस्टहरू भनेकै सङ्घर्षबाट नआत्तिने भएकोले देश र जनताको हितका निम्ति समर्पित हुन आग्रह गरे ।

नेपाली राजनीतिमा व्यक्तिवाद हावी भएको भन्दै उनले कुकर्म षड्यन्त्र जालझेल, पैसा र स्वार्थपूर्तिका कामबाट मुक्त भएर रुपान्तरित हुनुपर्नेमा जोड दिए । आज पनि कम्युनिस्ट पार्टीबाहेक अन्य पार्टीबाट जनताले आशा र अपेक्षा नगरेको भन्दै अध्यक्ष नेपालले सिद्धान्त र आदर्शप्रति समर्पित हुन कार्यकर्ता र नेताहरुलाई आग्रह गरे ।  कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनका ६५ जना बढीको सहभागिता रहेको स्कुल विभागका सचिव अशेष घिमिरेले बताए ।