काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनै पनि नेतालाई थाहा नरहेको समेत बताए ।

उनले मेची र महाकाली सीमाना भनिरहँदा त्यस बीचका कति भू–भागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अन्जान रहेको उनको भनाइ थियो । उनले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताए । उनले देशमा आफ्नै नागरिक शरणार्थी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताए ।

उनले भने, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई सोधेको थिएँ, के तपाईलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ? भनेर सोधेको थिएँ । आज मैले फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र काली भित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन्छ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न् ।’

उनले अगाडि भने, ‘देशको यो भू–भाग यहीँ छ भनेर देखाइदिए सबै नेताहरु त्यही दिन देशभक्त र क्रान्तिकारी ठहरिनेछन्। आफ्नै नागरिकहरु देशभित्र शरणार्थीको रुपमा बस्न बाध्य छन् तर राज्य सत्ता मौन छ। निःशब्द छ।’ उनले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताए ।