काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने बताएका छन् ।

हिजो साँझ योहो टेलिभिजनबाट प्रशारण भएको योहो बहसमा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् । ‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछु सम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’ सहरी मन्त्रीले सुनाए । यसअघि सहरको नक्सांकन गर्नेहरुले, ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।

‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टे अर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्ने देखि लिएर जम्मै बर्बाद पार्ने सम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाइ पो बनाइरहेका छन् ।’ मन्त्री चौधरीले आक्रोश पोखे । आफ्नो कार्यकाल छोटो भएतापनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका मन्त्री चौधरीले काठमाडौँसँग जोडिएका ३ वटा ठुला सहर बनाउने, गैर कानुनी ढंगले बनाइएका भवन हटाउने देखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारे समेत अध्ययन गरिरहेको बताए ।