काठमाडौँः नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन गरेको छ ।

विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद र दलित मुक्ति सङ्गठनका पदाधिकारीहरू र र केन्द्रीय नेतृत्व गरी ६५ जनको सहभागिता रहेको थियो । प्रशिक्षणमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विषयमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सहजीकरण गरेका थिए । यस्तै नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजीकरण गरेका थिए । दक्षिणपन्थी विसर्जनवादविरुद्ध संघर्ष उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमालले सहजीकरण गरेका थिए ।

यस्तै मार्गदर्शक सिध्दान्त , संगठनात्मक सिध्दान्त , कार्यदिशा तथा कार्यभारका विषयमा पार्टीका महासचिव डा. वेदुराम  भुसाल ,नेपालको कम्युनिष्ट आन्दोलन विगत र वर्तमान विषयमा पार्टीका उपमहासचिव डा. गंगालाल  तुलाधर, दर्शन र माक्सवादी  दर्शनमा डा खगेन्द्र  प्रसाई , वर्ग र वर्ग संघर्षमा  पार्टीका उपाध्यक्ष जयन्ती राई , मार्क्सवादी अर्थशास्त्रका केही आधारभूत कुरा विषयमा डा. विजय पौडेल, पुँजीवादी प्रभुत्व र समाजवादी संघर्ष विषयमा पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष  घिमीरेले सहजीकरण गरेका थिए ।

एकीकृत समाजवादीको पार्टी स्कुल विभागले विभिन्न चरणमा  पार्टी स्कुल सञ्चालन गरिरहेको  र यसलाई आगामी दिनमा समेत निरन्तरता दिने पार्टी स्कुल विभागका सचिव अशेष घिमिरेले बताए । सहभागी प्रशिक्षार्थीहरूलाई बिहीबार एक दीक्षान्त समारोहका बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले दीक्षित गराउने कार्यक्रम तयार भएको छ ।