काठमाडौँः प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय गौरवलगायत अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तरोन्नतिको कार्यमा भइरहेको ढिलासुस्ती तथा न्यून प्रगतिलाई ध्यानमा राखी उक्त सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले नारायणगढ–मुग्लिन मुग्लिन–पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई समेत तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ । बैठकले सडक अतिक्रमण गरी बिनास्वीकृति बनाइएका घर तथा सडकमा रहेका विद्युत पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिलता देखिएकाले सडक सीमाभित्र रहेका संरचना हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र उर्जा मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले वातावरणमैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्बन गर्ने कार्य तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको ,पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि मनोमानी ढंगले सार्वजनिक यातायातले भाडा असुल्ने काम गरेको भन्दै भरपर्दो अनुगमन समिति बनाएर जानकारी गराउन निर्देशन दिएको सभापति खड्काले बताइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वैकल्पिक सहायक राजमार्गको मापदण्ड नै बनाएर कार्यान्वयन गर्ने बताए । नारायणघाट–बुटवल सडक निर्माण समयमा नै नभएको भन्दै ठेकेदारको म्याद थप नगरेको र नारायणगढ–मुग्लिन मुग्लिन– पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र रुपमा अघि बढाइने उनले स्पष्ट पारे ।

बैठकमा समिति सदस्यहरूले चाडपर्व नजिकिँदै जाँदा मुख्य तथा सहायक राजमार्गहरूलाई चुस्तदुरुस्त राख्नका लागि सडकको प्रभावकारी अनुगमनमार्फत् आवश्यक तयारी समयमा नै गर्नुपर्ने धारणा समेत राखेका थिए ।