इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित बेबील्याण्ड मण्टेश्वरीले सार्वजनिक पैनीको जग्गालाई मिचेर आफ्नो कम्पाउण्ड घेरेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
वर्षायाममा पैनीबाट बगेर आएको पानीको निकास नहुँदा वर्षेनी बस्ती नै डुबानमा परिरहेको बेला पैनीको जग्गा मिचेर त्यहाँ सञ्चालित बेबील्याण्ड मन्टेश्वरीले कम्पाउण्डमा तारजाली लगाएपछि स्थानीयको विरोध भएको हो । स्थानीयले रामधुनी नगरपालिकाको वडा नम्बर ५ को कार्यालयमा पैनीको जग्गा मिचिएको भन्दै निवेदन दिएका थिए । वडा कार्यालयले पैनी मिचिएको विवाद मिलाउन नसकेपछि पीडित पक्षलाई नगरपालिकाको न्यायिक समितिमा मिलमिलापको लागि जान आग्रह गरेको थियो । वडा कार्यालयमा आएको विवादलाई आफूले मेलमिलापमा पठाएको वडा नम्बर ५ का वडाध्यक्ष लेखनाथ बास्तोला (भोला) ले बताए । वडाले विवाद समाधानका लागि निवेदन नलिई आउँदा पनि पहल गरेको तर समाधान नभएपछि भने निवेदन लिएर वडाको मेलमिलापमा पठाइएको बास्तोलाले बताए ।
‘हामीसँग आएको विवाद समाधानका लागि मेलमिलापमा जान्छ र त्यहाँबाट न्यायिक समितिमा जाने हो । अहिले त्यो फायल न्यायिक समितिमा पठाइएको छ ।’ बास्तोलाले प्रदेश पोर्टलसँग भने । १७÷१८ जना गाउँलेले पैनीको जग्गा मिचिँदा पानी निकास नभएर बस्तीलाई जोखिममा पार्ने भन्दै वडा कार्यलयमा निवेदन दर्ता गराएको स्थानीयवासी बताउँछन् । गत वर्ष सोही पैनीको पानी निकासको लागि छेउकै घरको अण्डरग्राउण्डसमेत खोल्नुपरेको थियो । साविकमा कायम भएको पैनीको जग्गा मिचेर मन्टेश्वरीले तारजाली सहितको कम्पाउण्ड बनाएपछि आफूहरु न्यायका लागि नगरपालिकाको न्यायिक समितिमा पुगेको स्थानीय हरिहर भण्डारीले बताए । साविक १२ फिट हाराहारीमा रहेको पैनीको जग्गा मण्टेश्वरीका सञ्चालक नगेन्द्र गुरुङ्गले झण्डै ७÷८ फिट मिचेर कंक्रिटको बेससहित तारजालीको कम्पाउण्ड बनाएको भण्डारी बताउँछन् ।
वडा कार्यालयबाट मेलमिलापको लागि न्यायिक समितिमा निवेदन दिन आग्रह गरेपछि हरिहर भण्डारी र मुना भण्डारीको नामबाट रामधुनी नगरपालिकाको न्यायिक समितिमा गत साउन ४ गते पैनी मिचिएको निवेदन परेको छ । बेवील्याण्ड मण्टेश्वरीका तर्फबाट नगेन्द्र गुरुङ्गलाई दोस्रो पक्ष मानेर दर्ता गरिएको निवेदनको दर्ता नम्बर १ रहेको छ । न्यायिक समितिमा गत साउन १० गते भएको छलफलमा नगरपालिकाले सार्वजनिक सम्पत्ति तथा सरोकारको विषय भएकाले नगरपालिकाको अमिनले नापजाँच गर्ने र के कति मिचिएको हो भन्ने यकिन गरी पैनीको जग्गा छुट्याउने सहमति भएको रामधुनी नगरपालिकाका मेलमिलापकर्ता भवानीप्रसाद ढुङ्गेल बताउँछन् ।
न्यायिक समितिमा छलफल भएको झण्डै २ हप्ता हुन लाग्दासमेत पैनीको जग्गा नापजाँच गर्न अमिन भने पठाइएको छैन । सार्वजनिक सरोकारको विषय भएकाले नगरपालिकाबाट अमिन आउने निवेदक अर्थात् पहिलो पक्षका हरिहर भण्डारी बताउँछन् । तर नगरपालिकाको अडान भने फरक छ । नगरपालिकाको घरनक्सा फाँटमा तोकिएको राजश्व तिरेर निवेदन दिनुपर्ने र त्यसपछि मात्र नगरपालिकाबाट अमिन गएर केकति जग्गा मिचिएको हो सो को विवरण लिने रामधुनी नगरपालिकाका सूचना अधिकारी वसन्त मोतेले प्रदेश पोर्टललाई बताए ।