काठमाडौँः वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वनरक्षक ब्यारेक भवनको आज उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताए ।

उनले भने, “हरियो वन नेपालको धन हो । आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन । वन माफियालाई कानुनी दायरामा ल्याउनेछु ।”

यसैगरी, मन्त्री यादवले सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले मन्त्रालयको निर्देशनबमोजिम वन–जंगलको संरक्षणका लागि काम गर्न वनरक्षकलगायत सबै कर्मचारीलाई निर्देशन समेत दिए ।

वनरक्षकमा कम जनशक्ति भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर गस्ती गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे ।

त्यसैगरी, सर्लाही क्षेत्रमा भइरहेको वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह, तप्का तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले  विश्वास व्यक्त गरे । -रासस