काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्वर्गीय श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा शनिबार भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले भक्तपुरका दुबै क्षेत्रमा कांग्रेसको झन्डा फहराउने गरी तयारी गर्न आग्रह गरेका हुन् । सरकारले शुक्रबार मंसिर ४ गते प्रदेश र संघ दुबैको एकै चरणमा चुनाव गर्ने घोषणा गरेको थियो ।

यस्तै नेपाली कांग्रेसका युवा नेता गुरूराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए । उनले जापान, सिंगापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए । ‘२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरू गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ,’ उनले भने । -रासस