काठमाडौँः निजामति कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् । उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी संघले राखेका माग सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी संघसँग छलफल गरिनेछ ।

डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए । ’सर्वोच्च अदालतले पनि एकपटकका लागि सीमित आन्तरिक प्रतियोगिता गरी स्थायी गर्ने आदेश दिएको छ,’ उनले भने, ’स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ ।’ सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी संघले आफ्ना माग राखी टाँगिएको कालो ब्यानर हटाइएका छन् । विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत थिए । -रासस