इटहरी: धरान उपमहानगरपालिकाले बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितको आग्रहमा बराहको सम्पूर्ण सम्पत्ति रोक्का हुनेगरी कम्पनी रजिष्ट्रार लगायतका निकायमा पत्राचार गरेपछि बराहले बुधबार सार्वजनिक विज्ञप्ति निकालेको छ ।
बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले भदौ १६ सम्ममा समस्या समाधान गर्ने बताउँदै बुधबार एक सार्वजनिक विज्ञप्ति प्रकाशित गरेको हो । कोभिड महामारी र मौद्रिक तरलताको अभावले समग्र व्यवसायमा सङ्कट देखा परेको भन्दै चाँडै समस्या समाधान गर्ने बराहले बताएको छ ।
बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले बचत तथा लगानीकर्ताहरूको आवश्यक रकम हरतरहले फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै विज्ञप्तिमा आफूहरुलाई भदौ १६ गतेसम्म समय दिन आग्रह गरेका छन् । सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र कम्पनीका अध्यक्ष शिवकुमार लामिछाने विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गर्दै बचतकर्ता र लगानीकर्ताको विश्वास टुट्न नदिने र बचत तथा लगानीलाई कुनै पनि हालतमा डुब्न नदिने बताएका हुन् ।
सेयर सदस्य तथा बचतकर्ताहरूले पैसा फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेपछि धरान उपमहानगरपालिकाको कार्यालयले प्रक्रिया अगाडि बढाएको थियो । उपमहानगरले साउन १६ गते बराह कम्पनी र सहकारी सँस्थाका पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया सुरु गरेको हो । बैङ्क खाताहरू रोक्का गर्नको लागि नेपाल राष्ट्र बैङ्क, केन्द्रीय कार्यालयलगायत एघार वटा सरोकारवाला निकायलाई पत्राचार गरेको थियो ।
उपमहानगरले पत्राचार गरेपछि सहकारी र कम्पनीमाथि नै दबाब सृर्जना भएको छ । कम्पनी र सहकारीले सेयर सदस्य, लगानीकर्ता एवम् बचतकर्ताको समस्यालाई सम्बोधन गर्दै दीर्घकालीन हल खोज्न आफुहरु तयार रहेको संकेत गरेका छन् । सहकारीले कोभिड महामारीका कारण केही समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेको स्वीकार गरेको छ ।
बराहको २८ औँ वार्षिकोत्सवको अवसरमा धरानको भोटेपुलस्थित बराह मलमा व्यवसाय विस्तार तथा बराह मुभिजको शुभारम्भ हुने जानकारी गराइएको छ । भानुचोक र भेटारका सपिङ सेन्टरहरूलाई थप स्तरोन्नतिसहित चाँडै नै सञ्चालन गर्ने उनीहरूले बताएका छन् ।