इटहरीः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापा हिम्मत, योग्यता र क्षमता भएको युवा भएकाले उनलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव र समर्थन गर्नु गलत नहुने बताएका छन् ।
गृहनगर झापाको धुलाबारीमा हिजो साँझ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले ५० वर्षभन्दा कम उमेरका नेता प्रधानमन्त्री बनेको कांग्रेसको इतिहास रहेको स्मरण गरे । ’बिपी कोइराला, शेरबहादुर देउवा ५० वर्षभन्दा कम उमेरमा देशको प्रधानमन्त्री भएको काङ्ग्रेसको इतिहास छ’, महामन्त्री शर्माले भने, ’मैले हिम्मतका साथ गगनलाई प्रधानमन्त्रीमा समर्थन गर्छु भनेको हुँ, एमाले, माओवादीका नेताले पनि युवालाई प्रस्ताव गर्नु भयो भने मेरो नकारात्मक टिप्पणी किमार्थ हुँदैन ।’
कांग्रेसमा गगन मात्र नभई अन्य थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य र सक्षम भएको उनले उल्लेख गरे । ’कांग्रेसमा मधेसबाट विमलेन्द्र निधि, आदिवासी जनजातिबाट प्रकाशमान सिंह, निडर नेता पार्टी उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण सबै प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ’, महामन्त्री शर्माले भने, ’सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले म पाँच पटक भएँ तपाईँ पहिलो पटक प्रधानमन्त्री हुनुस् भनेर नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा कसैको विमति हुँदैन ।’