इटहरीः प्रदेश १ सरकारको पर्यटन तथा सँस्कृति मन्त्रालयले भाषा, कला तथा साहित्यमा योगदान गर्ने प्रदेशका १७ जनालाई पुरस्कृत गर्ने भएको छ ।
मन्त्रालयले भाषा, साहित्य, कला र सँस्कतिको क्षेत्रमा योगदान पुर्याएको भन्दै बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र सँस्कृति श्रष्टा सम्मान २०७९ अन्तर्गत प्रा.डा. गोविन्द तुम्वाहाङ्ग र प्रा.डा. कालुराम खम्बूलाई सम्मान गर्न लागेको हो । भाषा, साहित्य र अनुसन्धानतर्फ सम्मान पाउन लागेका तुम्वाहाङ्ग सुनसरीका हुन् भने अनुसन्धान संस्करणतर्फ सम्मान पाउन लागेका खम्बू झापाका हुन् ।
त्यसैगरी प्रदेश भाषा, साहित्य , कला र सँस्कृति श्रष्टा सम्मानतर्फ १२ जनाले सम्मान पाउने भएका छन् ।
जसमा सुनसरीबाट कवि टंकबहादुर खुलाल अर्थात् मनु मञ्जिल छन् भने लघुकथातर्फ सुनसरीकी ममता गिरी, नाटक निर्देशनतर्फ सुनसरीका गोपाल देवान र चित्रकलातर्फ सुनसरीकै महेन्द्र राई छन् । त्यसैगरी, नाट्य अभिनयकर्मीतर्फ सुनसरीकै सोनु जयन्ति अर्थात जयन्तिरमण कण्ठ रहेका छन् । यता साहित्य कथाकार तथा कवि भोजपुरका नवराज राई, संगीततर्फ इलामका मानसिहं थुलुङ, साहित्यतर्फ सोलुखुम्बुका हरि कटेल, लोक सँस्कति तथा सँस्कृति संरक्षणतर्फ इलामबाट वीरबहादुर लाप्चा, मूर्तिकलातर्फ इलामकै विजय श्रेष्ठ, साहित्यतर्फ उदयपुरका गोवर्धन तामाङ्ग र नाट्यकर्मी तथा अभिनयतर्फबाट मोरङ्गका भरत गुरागार्इँसमेत रहेका छन् ।
यसैगरी, सरकारले नवोदित भाषा, साहित्य, कला र सँस्कृति श्रष्टा सम्मान पुरस्कारतर्फ झापाकी साहित्यकार लीला उप्रेती अनमोल, सुनसरीकी चित्रकार यशोदाकुमारी लम्साल, नाटक निर्देशनतर्फ इलामका चेतन आङ्गथुपो, चलचित्र साहित्यतर्फ पाँचथरका मधुराज केरुङ्ग र नाटक अभिनयतर्फ झापाका बिमला चिमोरियालाई सम्मान गर्न लागेको पर्यटन तथा सँस्कृति मन्त्रालयका सातौँ तह अधिकृत भेषराज न्यौपानेले बताएका छन् ।
श्रष्टाहरुलाई आरोहण गुरुकुल विराटनगरमा यही असार २८ गते मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिने न्यौपानेले बताए ।