बराहक्षेत्रः नेपाल सरकारका सूचना, प्रबिधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीमा विकासले फड्को मारेको बताएका छन् । हिजो( शनिवार) सप्तकोसी बहुमुखी क्याम्पसको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद समेत रहेका कार्कीले शनिवार नै सप्तकोसी क्याम्पसलाई कलेज बस हस्तान्तरण गरे । क्याम्पसले आयोजना गरेको प्राद्यापक संघको पदस्थापना तथा बस हस्तान्तरण कार्यक्रममा भाग लिन बराहक्षेत्र आइपुगेका मन्त्री कार्कीले बराहक्षेत्रमा सप्तकोसी बहुमुखी क्याम्पसलाई यस् स्थानसम्म ल्याइपुर्याउन क्याम्पस प्रमुखको भूमिका निर्वाह गर्ने खगेन्द्र निरौलाको प्रशंसा गरे । मन्त्री कार्कीको पहल र भारतीय दूतावासको समन्वयमा भारतको सहयोगमा क्याम्पसलाई एक थान बस प्राप्त भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले भनेका छन्, ‘राजनीति भाषण र आश्वासन मात्र होईन, विकासबिनाको राजनीति एउटा खोक्रो नारा मात्र हो ।’

उनले आफ्नो प्रतिबद्धताअनुसार बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउन बजेट परिसकेको बताए । 

‘केहि समयअघि यसै स्थानमा बसेर मैले तत्कालीन बराहक्षेत्रका मेयर निलम खनाल, प्रदेशका यातायात तथा भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई उधृत गर्दै भनेको थिएु, मन्त्री कार्कीले थपे, ‘ तपाईंहरूको पहलमा हुनसक्छ भने गर्नुहोला नत्र म आफैले त्यसको पहल गर्नेछु, त्यसैको अनुरूप आज बांगे धरान सडकखण्ड कालोपत्रेको पहिलो चरण सुरू भइसकेको छ ।’

कार्यक्रमका विशिष्ट अतिथी बराहक्षेत्र नगरका प्रमुख रमेश कार्कीले क्याम्पसमा अध्यनरत अनुसाशित र मेहनती विद्यार्थीलाई नगरले सहयोग गर्ने प्रतिबद्धता गरेका थिए भने इनरुवा नगरप्रमुख केदार भण्डारीले आफ्नो क्षेत्रमा अब्बल विकासप्रेमी नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई सुनसरी जिल्लाभरको विकासमा ध्यान दिन आग्रह गरे । यता कोशी गाउपालिकाका प्रमुख अयुब अन्सारीले कोशी कटान र यससँग सम्बन्धित समस्या निवाकरण गर्न भारतीय मन्त्रीलाई  बराहक्षेत्र ल्याउने तयारी थालिएको बताए ।

त्यस्तै, कार्यक्रममा क्याम्पस प्रमुख निरौलाले सप्तकोसी क्याम्पसको भवन निर्माणदेखि गुणस्तरीय शिक्षा आर्जनसम्ममा यस् क्षेत्रका सांसद कार्कीको ठूलो योगदान रहेको स्मरण गरे । उनले नगर सरकार, प्रदेश सरकारको समेत पहलमा क्याम्पसको भवन निर्माण सफल भएको बताउँदै क्याम्पसमा अझै थुप्रै आवश्यकताहरू रहेको सुझाए । क्याम्पसले कृषि बिज्ञान संकायमा अध्यापन गराउन, क्याम्पसभित्र सभाहल र कम्प्युटर ल्याब स्थापना गरिदिन अनुरोध पत्रमार्फत मन्त्री कार्कीको ध्यानाकर्षण गराएको थियोे । जवाफमा मन्त्री कार्कीले कम्प्युटर ल्याबको लागि आगामी निर्वाचन अगावै प्रारम्भ गर्ने आश्वासन दिए । 

उक्त समारोहमा गत हप्ता केशव पुरीको अध्यक्षतामा गठित प्राध्यापक संघलाई मन्त्री कार्कीद्वारा प्रमाणपत्रसहित पदस्थापना समेत भएको थियो ।

क्याम्पस संचालक समितिका अध्यक्ष भुवननाथ दाहालको सभादक्ष्यता र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहता, बराहक्षेत्रककी उपमेयर नन्दाकुमारी राई लगायतका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।