इटहरी / प्रदेश १ को नामकरणको विषय टुङ्ग्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको बैठकले पनि कुनै परिणाम दिन सकेन । प्रदेशसभामा सहभागी सबै दलका संसदीय दलका नेताहरु सम्मिलित सर्वदलीय बैठकमा सबै दलहरुले आआफ्नो दलीय अडान छोड्न नसकेपछि बैठकले परिणाम दिन नसकेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट बैठकमा सहभागी पूर्वमन्त्री हिक्मत कार्कीले जानकारी दिए । बैठकमा कोसी, कोसी किराँत, किराँत, सगरमाथा, लिम्बुवानलगायत नाममाथि छलफल भएको उनले बताए ।
नामकरण गर्नुपर्ने विषयमा सबै दल सहमत भएपनि के नाम राख्ने भन्ने विषयमा सहमति कायम हुन नसकेकाले पुनः बैठक बसी सहमतिको प्रयास गरिने उनको भनाइ छ । भूगोलका आधारमा कोसी प्रदेश नामकरण गर्नुपर्ने नेकपा एमालेको प्रस्ताव थियो । सत्तापक्षका माओवादी र नेकपा एसले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसले सहमतिको विन्दु खोजेर अघि बढ्नुपर्ने बताएको थियो । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्र दलका नेता ईन्द्रबहादुर आङ्बो, जसपा दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बहाम्फे र राप्रपा संसदीय दलका नेता ईन्दिरा राई सहभागी थिए ।