इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा दाखिल खारेज गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिने मालपोत कार्यलय ताप्लेजुङ्गकी प्रमुख लेखा पनेरु महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मालपोत कार्यालय ताप्लेजुङ्गकी मालपोत अधिकृत लेखा पनेरु महत जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेको भन्ने उजुरीका आधारमा गत वेशाख ११ गते घुससहित पक्राउ परेकी थिइन् ।
महतलाई अख्यितारले घुस रकमसहित पक्राउ गरेको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा सेवाग्राहीबाट लिएको घुस रकम १ लाख ५० हजार बिगो कायम गरी कारबाही गर्न माग गर्दै आरोप पत्र दाखिला भएको अख्यितारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । महतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र उपदफा १ को देहाय (घ) बमोजिम सजाय गर्न माग गरिएको छ ।