इटहरीः असार १५ गतेबाट १९ गतेसम्म बिक्री खुल्ला गरिएको हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) मंगलबार (असार २८ गते) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धनले आफ्नै कार्यलयमा मंगलबार आईपीओ बाँडफाँटको तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ । कम्पनीले मागेभन्दा १० गुणा बढी आवेदन परेपछि सेयर पर्नमा भने भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।

१ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७ सय ५४ जनाको भने हात खाली हुने भएको छ । हिमालयनको आईपीओमा कुल १६ लाख ३२ हजार ८ सय २ जनाले आवेदन दिएका थिए । आवेदकले १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धकले बताएको छ ।