इटहरीः झापाको कन्काई नगरपालिका–३ एकान्त टोलस्थित भित्री सडकखण्डमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा कन्काई नगरपालिका ३ की ३४ वर्षीया कमला नेपाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको मे.१.त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार कमला घाइते भएकी थिइन् ।
\टाउकोमा चोट लागी गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक कन्काई नगरपालिका ७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।