इटहरीः प्रदेश १ को नामकरणको विषयलाई टुङ्गो लगाउन प्रादेशिक राजधानी विराटनगरमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रदेशसभामा सहभागी सबै दलका संसदीय दलसम्बद्ध नेताहरुको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईका साथै नेपाली संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूर्यामराज राई, नेकपा एमाले संसदीय दलका नेता पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलगायत सहभागी छन् ।

प्रदेश १ को नाम कोसी, किराँत, सगरमाथा, विराट, विजयपुर आदि राख्न सकिने विकल्पहरु अनौपचारिक रुपमा नेताहरुले विभिन्न माध्यमबाट प्रकट गर्ने गरेका छन् । आज पनि सबै दलहरुले आफूलाई लागेको नाम प्रस्ताव गर्नेछन्, त्यसमध्ये सहमतिका आधारमा प्रदेशको नामकरण हुनेछ ।