इटहरीः अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री गर्न लागेको आईपीओ आजबाट खुल्ला भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ता पाउनेछन् । अपर हेवाखोलाको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय सँस्था र तिनका शाखा कार्यालयबाट र मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कस्तो कम्पनी हो अपर हेवाखोला ?
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६८ फागुनमा कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको कम्पनी हो । २०७५ जेठ २३ गतेदेखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्न सुरु गरेको अपर हेवाखोलाको रजिष्ट्रार कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २९, अनामनगरमा छ । अपर हेवाखोलाले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मच्छेबुङ्ग, बतासे, कोक्सा र पाँचखपन न.पा. वडा नं. ८ र ९ (साविकको जलजला गा.वि.स. वडा नं. ३, ४ र ५) स्थित मालबासे, सुनखानी र कोकलेमा आफ्नो आयोजना सञ्चालन गरी जलविद्युत उत्पादनको काम गरिरहेको छ ।

८.५ मेगाबाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना सञ्चालन गर्दै आइरहेको आयोजनाको कुल लागत १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको लागत प्रतिमेगावाट १६ करोड ६३ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । आईपीओ निष्कासन गरेर संकलन भएको रकम कम्पनीले आयोजनाको लागि बैंकहरुबाट लिएको कर्जा रकमको भुक्तानीमा प्रयोज गर्ने जनाएको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर स्थानीय बासिन्दालाई र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर गरी कुल २० लाख कित्ता शेयर निष्कासन गरेको हो ।