इटहरीः नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका उपसभापति बालकृष्ण बिष्टले आफूनिकट नेता कार्यकर्ताको छुट्टै भेला बोलाउँदै पार्टीमा असन्तुष्टि बढेको संकेत दिएका छन् ।
पार्टीका इटहरी उपसभापति तथा कार्यवाहक सभापतिसमेत रहेका कोविदजंग कार्कीले केही समयअघि कोषाध्यक्षमा सुशीला लेखी चौधरीलाई नियुक्त गरेको कुरामा समेत असन्तुष्ट रहेको बिष्ट समुहले बिहीबार इटहरीकै लायन्स क्लबको हलमा भेलाको आयोजना गरेको थियो । भेलामा नेताहरुले पार्टीका नगर सभापतिसमेत रहेका मेयर हेमकर्ण पौडेलले आफूहरुलाई बेवास्ता गरेको तथा समन्वय नगरेको आरोप लगाएका छन् । इटहरी उपमहानगरको वडा नम्बर ३ को वडाध्यक्षमा बागी उम्मेदवारी दिएका कारण पराजित भएका बिष्टले आफूनिकट पदाधिकारी तथा सदस्यलाई भेलामा डाकेको बताइएको छ । पार्टीले चुनावपछि समीक्षा बैठकसमेत नराखेको तथा बागी उम्मेदवारीका कारण आफू पराजित भएकोमा त्यसतर्फ पार्टीले बेवास्ता गरेको बिष्टको भनाइ थियो । आफैँ गुटको भेला बोलाएका बिष्टले उपमहानगर समितिमा गुट हावी भएको भन्दै आगामी चुनावमा एकजुट भएर लाग्न सदस्यहरुलाई आव्हान गरेका थिए ।
भेलामा पार्टीको १४ औँ अधिवेशनमा इटहरी उपमहानगरको सभापतिमा उम्मदवार बनेका महाधिवेशन प्रतिनिधि विकास कार्कीले पाटी विधनबमोजिम नचलेको आरोप लगाएका थिए । गत स्थानीय चुनावमा गठबन्धनको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका केसीले चुनावका बेला पार्टीले धेरै वटा वडा गुमाएको भन्दै त्यसको समीक्षासमेत गर्नुपर्ने आवाज उठाएका थिए । भेलामा पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि भीम पौडेल, प्रदेश एक समिति सदस्य दीपक गौतम, वडा नम्बर २० का वडाध्यक्ष मणिराज श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मेयरमा हेमकर्ण पोडेलले उम्मेदवारी दिएपछि कार्यवाहक सभापतिको भूमिकामा रहेका कोविदजंग कार्कीले भने पार्टीको आधिकारीक भेला आयोजना नगरिएको सामाजिक सञ्जालमा बताएका छन् ।
प्रदेश पोर्टलसँगको कुराकानीमा कार्कीले पार्टीको आधिकारिक भेला नभएकाले आफूलाई जानकारी नभएको बताए । ‘गुटको भेला भएको हो, पार्टीको आधिकारीक होइन ।’ कार्कीले भने । उपमहानगर समितिले स्थानीय तह सदस्य निर्वाचनपछि समीक्षा बैठक गर्न वडाहरुलाई असार १० गते सम्मको समय दिएकोमा केही वडाले समीक्षा बैठक गरी लिखित विवरण नगरमा बुझाएको र केहीले मौखिक रुपमै समय माग गरेकाले असार २५ गतेसम्म बुझाउन अन्तिम समय दिइएको बताए । सबै वडाबाट समीक्षा सहितको रिपोर्टिङ्ग आएपछि साउनको पहिलो हप्ताभित्र उपमहानगर समितिको वृहत समीक्षा बैठक आयोजना गरिने उपमहानगरका कार्यवाहक सभापतिसमेत रहेका कार्कीले बताए । छुट्टै भेला बस्नुअघि पार्टीमा समेत बैठक बस्न कुनै प्रकारको आग्रह तथा अनुरोध नआएको कार्कीको भनाइ थियो ।