इटहरीः पदभार ग्रहण गर्दै गर्दा गत जेठ ९ गते इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक सञ्चारमाध्यमबाट लाइभ प्रसारण गर्ने भनेर घोषणा गरेपनि बिहीबार कार्यपालिका बेठकको रिपोर्टिङ्ग गर्न गएका शिलापत्र डटकमका पत्रकारलाई बाहिर निकालेको भन्दै विरोध भएको छ ।
बिहीबार कार्यपालिकाको बैठक छ भन्ने थाहा पाएपछि रिपोर्टिङ्गका लागि पुगेका पत्रकार कृष्ण बहाव भट्टराईलाई ‘आज पत्रकारलाई निमन्त्रणा गरेको छैनजस्तो लाग्यो’ भन्दै सूचना अधिकारीलाई सोधेर मेयर पौडेलले बाहिर पठाएको बताइएको छ । पत्रकार भट्टराईले कार्यपालिकाको बैठक लाइभ गर्न दिने भन्ने मेयरको घोषणालाई टेकेर आफू रिपोर्टिङ्गका लागि नगरपालिका पुगेको तर मेयरले आज पत्रकारलाई निमन्त्रणा नगरेको भनेर बाहिर पठाएको बताएका छन् । मेयरले चाहेको बेला बैठक लाइभ गर्ने र नचाहेको बेला लाइभ नगर्ने भन्दै उक्त कदमको सर्वत्र विरोध भएको हो ।
मेयर पौडेलले ‘आज तपार्इँहरुलाई बोलाएको छैन क्या’ भन्दै बाहिर निकालेको पत्रकार भट्टराईले भनेका छन् । मेयरले आफूलाई ‘आज चियाचाहिँ ख्वाउने हो, अरु सकिँदैन’ भन्दै व्यंग्य गरेको भट्टराईले बताएका छन् । उनले कार्यपालिकाभित्र झगडा पनि हुने भन्दै सबै कुरा जनतालाई देखाउन नहुने भनेको समेत पत्रकार भट्टराईले उल्लेख गरेका छन् ।
पत्रकार भट्टराईलाई मेयरले कार्यपालिका बैठकबाट बाहिर निकालेको भन्दै नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालले मेयरको यस कदमको विरोध गर्दै विज्ञप्तिसमेत निकालेको छ ।
प्रेस चौतारी इटहरी उपमहानगर कमिटी र प्रेस चौतारी सुनसरी जिल्ला कमिटीले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै मेयरको निर्णयअनुसार कार्यपालिका बैठकमा रिपोर्टिङ्गका लागि गएका पत्रकारलाई अवरोध गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा रिपोटिङ्ग गर्न गएका पत्रकारलाई अवरोध गर्ने मेयर पौडेलको कदम प्रेस स्वतन्त्रताविरुद्ध रहेको भन्दै खेदसमेत प्रकट गरिएको छ । यसैगरी, प्रेस चौतारी इटहरी उपमहानगर कमिटीका अध्यक्ष रेवती निरौलाले पनि संगठनका तर्फबाट विज्ञप्ति जारी गर्दै लाईभ गर्ने भनिएको कार्यपालिका बैठकमा रिपोर्टिङ्गका लागि पत्रकार जानु सामान्य विषय भएको भन्दै त्यसमा अवरोध गर्ने मेयरको कदमप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
यता, इटहरी उपमहानगरका मेयर हेमकर्ण पोडेलले भने बिहीबार विषयगत समितिको छलफलअघि पत्रकार भट्टराई कार्यपालिका बैठक भइरहेको कक्षमा पुगेको स्वीकार गरेका छन् । उनले सो बैठकमा पत्रकारहरुलाई खबर नगरेको भन्दै सूचना अधिकारीलाई सोधेर ‘निमन्त्रणा रहेनछ अब चिया खाउँ है’ भन्दै बाहिरसम्म पुर्याउन आफैँ आएको बताएका छन् । आफू प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा भएको भन्दै पत्रकारलाई आफूले अपमान नगरेको दाबी गरेका छन् । पत्रकार भट्टराईलाई नै यसअघिका मेयर द्वारिकलाल चौधरीले पनि कार्यकाल सुरु गरेकै समयमा नगरपालिकाभित्रै अन्तर्वाता लिने क्रममा प्रश्न गर्दा लोपारिदिने भन्दै अपमान गरेका थिए ।