इटहरीः प्रदेश नम्बर १ का नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायबमहानिरीक्षक सुदीप गिरीले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् ।

असार १९ गते मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाट प्रहरी नायवमहानिरीक्षक (डीआईजी) मा बढुवा भएका गिरीलाई प्रदेश १ को प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । यसअघिका प्रदेश प्रहरी प्रमुख एआईजीमा बढुवा भएर गएपछि सो पद रिक्त थियो ।

292596067_403241828502988_5396243966249537031_n

नेपाल प्रहरी संगठनमा राम्रो छवि बनाएका गिरीले यसअघि विशेष ब्युरो, सीआईबी तथा अपराध महाशाखामा काम गरिसकेका छन् । विशेषगरी अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रणसम्बन्धी राम्रो ज्ञान भएको प्रहरीको रुपमा गिरीलाई चिन्ने गरिन्छ । गिरीले विभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा महानगरीय प्रहरी परिसर काठमाडौँमा समेत सफल नेतृत्व गरिसकेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा हाजिर भएपश्चात् गिरीले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराधरहित समाज निर्माणमा अहोरात्र खटिन निर्देशन दिएका थिए ।