इटहरीः गुडिरहेको स्कुटीमा ब्रेक नलागी बिजुलीको पोलमा ठोक्किँदा धरानमा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरान १ मा रहेको रेडक्रस भवनपछाडि भित्री सडकखण्डमा भएको दुर्घटनाका बेला स्कुटीमा तीन जना सवार रहेका थिए । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१८प ५९४७ नम्बरको स्कुटी अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएको प्रहरीको भनाइ छ । दुर्घटनामा चालक धरान १६ बस्ने वर्ष १६ को सुवन राईको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेका कारण चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
सुवनको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । टाउकोको चोट भएता पनि उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । पछाडि सवार धरान १३ बस्ने १४ वर्षीय साइदीपविक्रम सिंहको पनि टाउकोमा चोट लागेको छ भने पछाडि नै सवार धरान–१४ बस्ने १५ वर्षीय इमान राईको हातमा चोट लागेको छ । उनीहरु दुवै जना विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् । ओरालो बाटोमा ब्रेक नलागेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भनाइ छ ।