इटहरीः नेपाल सरकारको कार्यविधिमा रहेर सामाजिक सुरक्षा कोषमा सहभागी भएका श्रमिकले अब मोरङ्गका २ अस्पतालमा पनि निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध सबै श्रमिकले कोषको परिचयपत्र देखाएको आधारमा नोबेल र विराट मेडिकल कलेजसहित देशभरिका २६ वटा अस्पतालबाट निःशुलक उपचार पाउने भएका हुन् । स्वास्थ्य उपचार बारेमा सोमबार संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषद्वारा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन् । स्वचालित विद्युतीय प्रणाली सेवाको शुभारम्भसँगै कोषमा आबद्ध श्रमिकहरुले सातै प्रदेशका विभिन्न अस्पतालमा निःशुल्क उपचार पाउने भएका हुन् ।

जसमा प्रदेश १ को राजधानी विराटनगरस्थित नोबेल मेडिकल कलेज र हाम्रो अस्पतालका साथै बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज, उर्लाबारीको मनमोहन मेमोरियल सामुदायिक अस्पताल, बिर्तामोडको बी एण्ड सी अस्पताल र मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, सुनसरीको इटहरीस्थित पशुपति मोडेल हस्पिटल पनि परेका छन् । यी अस्पतालहरुमा प्रदेश १ का सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरुको निःशुल्क उपचार हुनेछ ।

निःशूल्क उपचार सेवा प्रदान गर्ने अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत् लिएर कोषलाई जानकारी गराएपश्चात् कोषले अस्पताललाई अनलाइनबाट नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली सुरू गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३, बाग्मतिका ९ र गण्डकीको १ अस्पतालमा निःशूल्क उपचार प्राप्त गर्न सकिने जनाइएको छ ।

सप्तरीको छिन्नमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टरबाट सेवा प्रवाहको प्रबन्ध मिलाइएको कोषले जनाएको छ । 

कोषका अनुसार चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलाञ्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुले परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार पाउनेछन् ।