इटहरीः मोरङको कानेपोखरी गाउँपालिका ७ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकलका चालक मोरङको सुनवर्षी नगरपालिका–१ केचनाका ३३ वर्षीय रोशन श्रेष्ठ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको मोटरसाइकल आज अपराहन्न २ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।