इटहरीः विकास आयोजना सञ्चालनका नगर प्रमुख र उप–प्रमुख कोष स्थापना स्थापना गर्ने मेयर हर्क साम्पाङको प्रस्तावले धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा हङ्गामा मच्चिएको छ ।

मंगलबार बसेको बैठकमा नगरप्रमुखको कोषमा एक करोड २० लाख र उपप्रमुखको कोषमा ८० लाख रुपैयाँ सञ्चित गरी विकासका आयोजना सञ्चालन गर्ने मेयर साम्पाङको प्रस्तावको कार्यपालिका सदस्यहरुले खण्डन गरेका थिए । कार्यपालिका सदस्य दिनेश गजमेरले प्रमुख र उप–प्रमुख कोष किन चाहियो भन्दै बैठकमा प्रश्न गर्दै विगतमा भएजस्तो कोष राख्न नहुने बताए । पूर्वाधारको काम गर्ने भए समितिबाट तय भएअनुसार गरिनुपर्ने उनको जिकिर थियो ।

कोष राख्दा नीतिगत भ्रष्टाचार हुनसक्ने भन्दै उनले ऐन र नीतिमा नभएको कोष राख्न नहुने धारणा राखे । कार्यपालिका सदस्यहरुले कोष राख्ने प्रस्तावको विरोध गरिरहँदा मेयर साम्पाङले भने धरानकै विकास निर्माणका आयोजना सञ्चालनमा कोषको रकम खर्च हुने भएकाले विरोधको औचित्य नभएको बताउँदै प्रस्तावको बचाउ गरे । उपमेयर अइन्द्रविक्रम बेघाले पनि जनतालाई विकाससँग जोड्ने सेतुका रुपमा कोष राख्न लागिएकाले यसले कुनै समस्या नपर्ने उल्लेख गरे ।

कोषको रकमबाट ३३ करोड वडामा पठाई स्थानीय समस्याको समाधान खोज्ने प्रयत्न गरिएको उनको भनाइ थियो । उपमहागरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रमुख र उपप्रमुख कोष संघीय सरकारले बनाएका स्थानीय सरकार संचालन ऐन, अन्तर तह समन्वय ऐन, अन्तर तह संचालन ऐन, राष्ट्रिय प्राकृति स्रोत तथा वित्तीय व्यवस्थापन ऐनलगायतले संघीय ऐनले कोष खोल्न कुनै अवरोध नगरेको बताए ।

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यले दबाब दिएपछि अब एक करोड ७० लाखको सगोल कोष बनाइने भएको छ ।