इटहरीः खोटाङको रावााबेँसी गाउँपालिका ३, लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् ।

उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसकी वडा सभापतिसमेत रहेकी मेनुजा हजुरबुबाको मृत्यु भएपछि दुई छोरीलाई साथै लिएर माइती गएकोमा माइती घरको आफू सुतेकै कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार विश्वकर्माका पति वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका छन् । स्नातक उत्तिर्ण मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्रो पटक विजयी भएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिए । शव पास्टमार्टमका लागि खोटाङ जिल्ला अस्पताल पठाई घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।