काठमाडौँः राष्ट्रियसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए ।
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले मदन भण्डारी विश्वविद्यालयलाई परम्परागत शिक्षाभन्दा फरक शैलीमा खोल्न थालेको बताए । उनले दक्ष जनशक्ति र वैज्ञानिक युवालाई अनुसन्धानसँग जोडेर प्रमाणपत्र मात्र नभइ अनुसन्धान गर्ने खालका रुपमा विश्वविद्यालय हुने जानकारी दिए ।
उनले सरकारले विषयअनुसार विश्वविद्यालय खोल्ने तयारीसमेत गरिएको जानकारी गराए ।
मन्त्री पौडेलले प्रत्येक प्रदेशमा विश्वविद्यालय खोल्ने अधिकार दिएको भन्दै यस सम्बन्धमा प्रदेश सरकारसँग पनि छलफल भइरहेको बताए । उनले विश्वविद्यालय र शिक्षा प्रणालीको सुधारका निम्ति सबैको पहल आवश्यक रहेको बताए । -रासस