इटहरीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदुत साइद अल नक्वीबीच भेटवार्ता भएको छ । राजदुत नक्वी मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।

उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । राजदुत नक्वीलाई मन्त्री कुँवरले युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडि बढ्ने जानकारी गराएका थिए । साथै उनले संयुक्त अरब इमिरेटसका ठूला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हानसमेत गरेका छन् ।

291850085_578448403795383_4666116264118230324_n

भेटमा मन्त्री कुँवरले केही समयपछि युएईका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी दिए । युएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए । युएईका राजदुत नक्वीले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका थिए ।