इटहरीः आगामी आर्थिक वर्षको बजेटका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सुनसरी मोरङ्ग औद्योगिक करिडोर अन्तर्गतका एमएस वायर रडमा आधारित केवल उद्योगहरुले कामदार कटौती गर्न थालेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया बढाएका हुन् । बजेटका कारण एमएस वायरमा आधारित उद्योगहरु समस्यामा परेको भन्दै उद्योगहरुले सूचना जारी गर्दै कर्मचारी कटौती गर्ने निष्कर्ष निकालेका हुन् । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको पायनियर वायर्सले मंगलबार सूचना जारी गर्दै ८४ जना मजदुरलाई कामबाट निष्कासन गर्ने बताएको छ । कम्पनीले २८ कर्मचारीलाई समेत निष्कासन गर्ने सूचना जारी गरेको छ ।
असार २० गत सूचना जारी गर्दै उद्योगले साउन २० गतेदेखि बाध्यत्मक अवकाश दिइने जनाएको छ । कानूनअनुसार उद्योगले कर्मचारी तथा मजदुरलाई सेवाबाट निकाल्न एक महिनाअगाडि नै सूचना जारी गर्नुपर्ने भएकाले श्रम कार्यालयलाई जानकारी गराउँदै उद्योगले असार २० गते सूचना जारी गरेको छ । शारडा ग्रुपअन्तर्गत सञ्चालित पायनियर वायर्सले कानूनअनुसार कर्मचारी कटौती गर्न लागेको हो । उद्योगले कामदार आपूर्तिकर्तामार्फत् लगाएका ९० जना मजदुरलाई यसअघि नै अवकाश दिइएको समेत बताएको छ ।
सरकारले गत जेठ १५ गते ल्याएको बजेटमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ प्रतिशतबाट वृद्धि गरेर १० प्रतिशत पुर्याएको थियो । यसैगरी, अन्तःशुल्क २ रुपिँया ५० पैसा प्रतिकिलोबाट ४.५० पैसा पु¥याएको थियो ।
बजेटमा उक्त व्यवस्था पुनरावलोकन गर्न माग गर्दै उद्योगीहरुले आन्दोलनसमेत गरेका थिए । तथापि बजेट पुनरावलोकनको सम्भावना कम भएको भन्दै उनीहरु कर्मचारी कटौतीमा अघि बढेको बताइएको छ । श्रम ऐन २०७४ को दफा १४५ को उपदफा (२) अनुसार कुनैपनि उद्योगले श्रमिक वा कर्मचारी कटौती गर्नका लागि ३० दिनअगाडि सूचना जारी गरेर श्रम कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान छ । सोही ऐनअनुसार पायोनियरसहित अन्य विराटनगरका ४ उद्योगले कर्मचारी कटौती गर्न सूचना जारी गरेको बताइएको छ ।
करिडोरमा पायोनियरजस्तै प्रकारका पाँच उद्योग सञ्चालनमा रहेका छन् । बाँकी चार वटा उद्योगले समेत मजदुर तथा कर्मचारी कटौती गर्ने प्रक्रिया सुरु गरिसकेको पायोनियरको दाबी छ । यो निर्णयबाट पाँच वटा उद्योगका एक हजार मजदुर तथा कर्मचारीको रोजगारी गुम्नेछ । बुढीगंगा गाउँपालिकाको कमला स्टिलले २०० कर्मचारी तथा मजदुर कटौतीको प्रक्रिया अघि बढाएको बताइएको छ भने प्रिमियर वायरले २ सय श्रमिक कर्मचारी कटौती गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ । यसैगरी, महालक्ष्मी वार्यसले पनि कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको बताएको छ ।