इटहरीः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ्गले देखेको धराने जनतालाई खानेपानी वितरणको सपना पानी पोखरी बनाएर वर्षामा पानी संकलन गर्ने र हिउँदमा वितरण गर्ने गरी साकार हुने सम्भावनातर्फ अघि बढेको छ ।
कहिले पकुवा खोलामा श्रमदान त कहिले सप्तकोसीको पानी ल्याएर शुद्धीकरण गरेर पुर्याउने सम्भाव्यताको अध्ययन गरिरहेका मेयर साम्पाङ्गले मंगलबार भने वर्षाको पानीलाई संकलन गर्ने र हिउँदमा शुद्धीकरण गरेर वितरण गर्ने योजनामा पुगेका छन् । खानेपानीकै लागि झण्डै २० दिनदेखि पकुवा खोलामा सचेत धराने समुहले श्रमदान गरिरहेको छ भने मेयर साम्पाङ्ग पनि हरेक शनिबार श्रमदानका लागि पकुवा खोला पुग्ने गरेका छन् । आफूसँगै मेयरले श्रमदान गर्न धराने जनतालाई पनि आव्हान गर्ने गरेका छन् । स्वतन्त्र जनताको साथ पाएका साम्पाङ्ग हरेक हिसाबले खानेपानी जनताले पाउनुपर्छ भन्नेमा लागेको पाइन्छ ।
खानेपानी वितरणमा संवेदनशील भएका मेयर साम्पाङ्गलाई जनताले पनि उत्तिकै साथ र सहयोग गरिरहेका छन् । धरानको खानेपानीको समस्या समाधानकै लागि
मेयर साम्पाङको अभियानमा संयुक्त अधिराज्य (युके) बाट १ लाखभन्दा बढीको पाइप सहयोग प्राप्त भएको छ । मंगलबार युकेमा रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले १ लाख ६ हजार रुपैयाँ बराबरको ६ इन्च चौडाइको पाइप मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा विष्णुकुमारी चेम्जोङ थेगिमकी भतिजी आशा लिम्बूले मेयर साम्पाङलाई पाइप हस्तान्तरण गरेकी हुन् । राम्रो काम भए अझै पनि युकेबाट आफूले मेयर साम्पाङलाई सहयोग गर्न सक्ने विष्णुकुमारीले बताएको उनका आफन्तले बताएका छन् ।
मेयर साम्पाङले प्राप्त पाइपहरू अरू ठाउँ र पकुवा खोलामा प्रयोग नगरी आपगाँछीस्थित खर्दु खोलाको मुहानबाट पानी ल्याउन प्रयोग गरिने बताए । धरानमा सधैँ खानेपानीको समस्या हुने भएकोले धरानको खानेपानी समस्या समाधानको अभियानमा देशविदेशमा हुने सबैले साथसहयोग गरेकोमा आफूलाई ज्यादै खुसी लागेको बताउँदै उनले धरानमा यस पटक खर्दु खोलामा पानीको पोखरी बनाएर पानी सङ्कलन गर्ने आफ्नो योजना रहेको समेत बताए । त्यहाँ सधैँ पानी रहने र दबिएर तालतलैया र शंकरबेली लगायतका स्थानमा पुगेर सतहमा निस्किने आफ्नो अनुमान रहेकोले सो क्षेत्रमा पोखरी बनाएर मङ्सिरको सङ्लो पानी जम्मा गरेर फिल्टर गरेर चैत वैशाखमा धरानमा वितरण गर्ने योजना रहेको बताउँदै यसतर्फ आफु अघि बढेको साम्पाङ्गले मंगलबार सामाजिक सञ्जालमार्फत् पनि सार्वजनिक गरेका थिए ।