काठमाडौँः मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मलेसियाको विर्स्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा विर्स्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेसनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेसनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत् नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् ।
मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेसनलबाट १४० महिला र ६० पुरूष तथा लालधनुष इन्टरनेसनलबाट १७५ महिला र ७५ पुरूष श्रमिक मलेसिया जाँदैछन् ।
नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौंमै आएको छ ।
बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ ।
छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विर्स्टन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए ।
‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौं’, उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।’
चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा सो कम्पनीको उद्योग छ ।
मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए ।
उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था छ ।
आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरूआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए ।
१८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ । -रासस