इटहरीः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा संग्रहालय स्थापना गर्न माग गरेकी छन् ।
हिजो (मंगलबार) काठमाडौँमा आफ्ना पितासमेत रहेका कोइरालाको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै नेतृ कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग राखेकी हुन् । विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठा क्षेत्रफलमा निर्मित भवनलाई संग्रहालयमा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।
संग्रहालय निर्माण गर्न सके आफ्ना पिताको समयमा विदेशबाट ल्याइएका ऐतिहासिक सामग्रीको संरक्षण हुने र त्यो नेपाली कांग्रेसका लागि इतिहास बन्ने नेतृ कोइरालाले जिकिर गरिन् । अहिले सरकार नेपाली कांग्रेसकै नेतृत्वमा रहेकाले काम गर्न सहज हुने भन्दै सरकारले यसमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
शालिक अनावरण समारोह नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको थियो ।