इटहरीः झापाको बुद्धशान्ति गाउँपालिकामा केही दिनअघि हात्ती मृत अवस्थामा फेला परेको घटना सेलाउन नपाउँदै आज अर्जुनधारा अर्को हात्ती मृत भेटिएको छ ।
अर्जुनधारा नगरपालिका ४ दहिझोडामा हात्ती मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) रुगमसिंह कुँवरका अनुसार हात्ती मृत फेला परेको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
दाह्रा, पुच्छर, खुरलगायत शरीरका सबै अङ्ग सुरक्षित रहेको हात्तीको मृत्युको कारण प्राविधिक परीक्षणपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । भारतबाट आएको अनुमान गरिएको हात्तीको परीक्षणका लागि जिल्ला वन कार्यालय र पशु प्राविधिकको टोली पठाइसकिएको प्रहरीले उल्लेख गरेको छ ।
स्वस्थ हात्तीको एकपछि अर्को गर्दै मृत्यु भइरहँदा सरकारले मृत्युको कारण भने प्रष्ट पारेको देखिँदैन । मानिसले करेन्ट लगाएर हात्ती मारेको हुनसक्ने सरोकारवालाहरुले आशङ्का गर्न थालेका छन् ।