वीरगञ्जः सहरी विकास तथा भवन कार्यालय पर्साका सब–इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो ।

सव–डिभिजन वन कार्यालय वसन्तपुर र सव–डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ ।

मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ । -रासस