स्वभावैले नरम नारीत्व, जो प्रेमको बहकाइमा
विश्वासमा थिगरीथिगरी गर्दैै,

स्त्री मान्छेको पवित्र कुमारीत्व
निहुरिन्छ तिमीप्रति समर्पणले
तिमी आफू तृप्त हुन्जेल पिइरहन्छौ,

जब म आफ्नो समर्पणको मोल खोज्छु
तिमी प्रेममा अभिनय गर्छौ र
मलाई मेरो खिलाप स्वरूप, नगरबधू भन्छौ

नुर उठाउने हिम्मत गर भोगी पुरूष ।
म नयाँ युगकी पिङ्गला हुँ
तिम्रो अपवित्र सीमाभित्रकी पवित्र फुलनदेवी हुँ

म आत्मसम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ति चाहन्छु ।

तिम्रा हरेक सफलताको पछाडी मेरो स्वरूपको नकाव छ
उन्नतिका हरपइलामा मेरो जीवनभरको लगाव छ
नुर उठाउने ल्यागत जुटाउ ढोंगी पुरूष !
हैन भने मलाई बुझ्ने कोशीष गर
कि मेरो उछित्तो काढ्ने तिम्रा नैतिकता विहिन नितीहरूलाई
मेट कि सधैका लागी जलाईदेउ
म तिम्रो मझेरी सिगार्ने दासी हुँ
तिम्रो अपवित्र सिमाभित्रकी पवित्र फुलनदेवी हुँ।
म आत्म सम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ती चाहन्छु।

तिम्रो विछ्यौना र हर कोठा चोटामा हेर
त्यहाँ मेरो पसिनाको अमिलो गन्ध आउछ
नुर उठाउने बर्गत जुटाउ लोभी पुरूष !
कि मेरो आंगमा धरो हाल
हैन भने कि आफ्नो दरिद्रता छोप
म तिम्रो संसार थेग्ने ढाकरको खकनी हुँ
तिम्रो अपवित्र सिमाभित्रकी पवित्र फुलनदेवी हुँ ।
म आत्म सम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ती चाहन्छु।

तिम्रा अतिरन्जनापुर्ण चाह खोल
त्यहाँ मेरो दर्द र व्यथाको आहाल हुन्छ
नुर उठाउने तागत जुटाउ फोहोरी पुरुष
कि आफु सुग्गरी वन्ने प्रयास गर
हैन भने की
आफ्नो गोजीको भित्री झै बदलिने आँट गर
म असारको गोरूसंगै सार मिलाएर
घरव्यवहारमा जोतिईरहने तिम्री कमारी हुँ
तिम्रो अपवित्र सिमाभित्रकी पवित्र फुलनदेवी हुँ ।
म आत्म सम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ती चाहन्छु।

म तिम्री द्रौपदी हुँ,जसलाई हस्तिनापुरमा (धर्मसभा)दाउमा थापे हुन्छ
म तिम्री सीता हुँ
जसलाई अग्निकुण्डमा होमेर जाँचे हुन्छ
म को होईन तिम्री ?
हे पवित्र पुरूष !
तिमी कृष्ण हौ
जसको मति थिएन र त श्रीमती १६०० थिए
तिमी भगवान राम कहलाउछौ
तर शुर्पणाखाको नाक कान छेदन गर्छौ
हे ! ब्रह्रा विश्नु महेश्वर,पुरूष !
म तिम्रो अपमान र घृणाकी कुरूप नारी चरित्र हुँ
तिम्रो अपवित्र सिमाभित्रकी पवित्र फुलनदेवी हुँ ।
म आत्म सम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ती चाहन्छु।

म तिम्रो मनमन्दिरदेखी मठमन्दिरसम्म कहाँ छैन ?
हे पुरूष ! तिमी मलाई अपमानित गर्नुमा आफ्नो पौरूषार्थ सम्झन्छौ
तर यो मोटोलाई निचोरी हेर
मेरो रगत र माटोले सिन्चित छ
नपत्याए यी खत हेर
साल नाल काटेको अझै आहालै छ
त्यसैले त अव तिमी सत्ययुगको कुन्डलीसहित
द्वापरयुगको जोड अनि
त्रेतायुगको घटाउ लिएर
कलियुगको गुणानसहित
न्यायको कठघरामा उभिनुपर्छ
नुर उठाउने पाइन जुटाउ दोषी पुरूष !
जुन बूरूश लगाउदा समेत मेटिदैन
अव कि परिवर्तनलाई हेर्न नसकी आँखा छोप
म आफ्नोत्व गुमाएकी समर्पणकी रानी हुँ
तिम्रो अपवित्र सिमाभित्रकी पवित्र फुलनदेवी हुँ ।
म आत्म सम्मानसहितको पहिचान खोज्छु
म पहिचानसहितको मुक्ती चाहन्छु।