इटहरीः संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन कारवास फैसला भएको छ । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको छ ।

संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गदैं उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई–दुई लाख रुपैयाँ क्षतिपुर्ती रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए ।

घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी संखुवासभाले पनि ४ जना विरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो ।

हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन् ।

२०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।