इटहरीः मोरङका विभिन्न स्थानबाट प्रहरीले विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चोरी, लागूऔषध, विष्फोटक पदार्थ, जबरजस्ती करणी उद्योग, सवारी ज्यान, बैंकिङ कसुरजस्ता मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय पाएका फरार प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार चोरी मुद्दाका चार, लागुऔषधका दुई तथा विष्फोटक पदार्थ, जबरजस्ती करणी, सवारी ज्यान र बैंकिङ कसुर सम्बन्धी मुद्दाका एक–एक जना प्रतिवादीलाई पक्राउ गरी अदालतको आदेशमा जरिवानाका सजाय पाएकासँग जरिवाना असुल गरी कैद सजाय भएकालाई कारागार चलान गरिएको छ । पक्राउ पर्नेका मध्ये बेलबारी नगरपालिका–११ का ३० वर्षीय जर्मन कार्कीलाई चोरी मुद्दामा अदालतले २०७८ असार १७ गते तीन महिना कैद र ४० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय प्रल्हाद पौडेल, उर्लाबारी–३ का ४० वर्षीय प्रकाश धिमाल र उर्लाबारी–२ का २७ वर्षीय जीवन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अदालतले विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पौडेललाई २०७७ फागुन ११ गते ११ दिन कैद र एक हजार जरिवानाको फैसला गरेको थियो । त्यस्तै लागुऔषध मुद्दामा धिमाललाई २०७८ पुस २१ गते एक वर्ष तीन महिना कैद र नेपालीलाई २०७८ पुस २० गते २५ दिन कैद सजायको फैसला भएको थियो ।

मिक्लाजुङ गाउँपालिका–६ का ३४ वर्षीय रोशन लिम्बू, ५७ वर्षीय तुलबहादुर सुर्जे मगर र मिक्लाजुङ–३ का ३० वर्षीय कृष्ण भुजेल पनि पक्राउ परेका छन् । अदालतले लिम्बूलाई चोरी मुद्दामा २०७६ साल मंसिर १ गते चार महिना कैद र एक लाख ५५ हजार, मगरलाई जबरजस्ती करणी उद्योग मुद्दामा २०७४ साल जेठ २२ गते छ महिना कैद र भुजेललाई सवारी ज्यान मुद्धामा २०७७ चैत ५ गते नौ महिना ८ दिन कैद तथा दुई हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ का २७ वर्षीय विनोद सरदार, बेलबारी नगरपालिका–२ का २१ वर्षीय अर्जुन झागड र सुन्दरहरैँचा नगरपालिका–१० का ३७ वर्षीय अर्जुन गुरुङ पनि रहेका छन् । अदालतले नकवजनी चोरी मुद्दामा सरदारलाई २०७८ साल असोज ७ गते सात महिना पाँच दिन कैद तथा १० हजार रूपैयाँ जरिवाना, चोरी मुद्दामा झागडलाई २०७८ भदौ २२ गते पाँच महिना १६ दिन कैद र पाँच हजार जरिवाना एवं बैंकिङ कसुर मुद्दामा गुरुङलाई २०७६ फागुन १८ गते दुई लाख ९९ हजार चार सय रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।