इटहरीः मोरङको बूढीगङ्गा गाउँपालिका–४ बाट प्रहरीले एक भारतीय नागरिकलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सुपौल जिल्ला घर भएका ३१ वर्षीय नवीन देवल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बिआर १० एन ६६१७ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेका देवललाई इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

देवलले बोकेको झोलाबाट एउटा ल्यापटप, विभिन्न कम्पनीका छवटा मोबाइल, भारतीय रूपैयाँ ४० हजार, नेपाली रूपैयाँ नौ हजार ४२ र एउटा खुकुरी बरामद भएकाले सो सामान चोरीको हुनसक्ने आशङ्कामा देवललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।