इटहरीः कार्यालय समयमा अस्पतालमा सेवा नदिएर निजी क्लिनिकतिर धाउने सरकारी चिकित्सकलाई विराटनगरस्थित कोसी अस्पतालले कारबाही गर्ने तयारी गरेको छ ।

सरकारी तलबसुविधा लिने चिकित्सकहरु कार्यालय समयमा अस्पतालमा नबसी निजी क्लिनिक धाउने गरेकाले आफूहरुले उपचार नपाएको गुनासो सेवाग्राहीबाट आएपछि अस्पतालमा नबस्ने चिकित्सकमाथि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आइतबार पत्राचार गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए ।

डा. खरेलले प्रशासनलाई पठाएको पत्रमा अस्पतालका लागि निर्धारित समयमा समेत बिरामीलाई छोडेर चिकित्सक अन्यत्रका निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासो धेरै आएको उल्लेख छ । यसैगरी, आफ्नो अस्पतालका चिकित्सकहरुको नाम अनाधिकृत रुपमा निजी अस्पतालहरुले उनीहरुका होर्डिङ बोर्डमा राख्ने गरेको भन्दै डा. खरेलले त्यस्ता अस्पताललाई पनि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।