इटहरीः आज असार २० गतेबाट स्वास्थ्य बीमा बापतको सेवा रोकिने सूचना जारी गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले साउन ७ गतेसम्म स्वास्थ्य बीमाको सेवा नरोक्ने भएको छ ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गको पहलपछि प्रतिष्ठानले साउन ७ गतेसम्म बीमा सेवा सुचारु राख्ने भएको हो । नेपाल सरकारले बीमा बापतको भुक्तानी दिन ढिलाइ गरेपछि प्रतिष्ठानले सेवा नै रोक्ने चेतावनी दिएको थियो तर उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले बीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बीमा बोर्ड, धरानका मेयर र मानव अधिकार आयोगले पनि बीमाको सेवाहरु नरोक्न अनुरोध गरेकोले साउन ७ गतेसम्म सेवा सुचारु हुने जानकारी दिएका छन् ।

उपकुलपति डा.गिरीका अनुसार बीमा बोर्डबाट शोधभर्ना पाउनुपर्ने रकमको भुक्तानी साउन ७ गतेसम्म नभए पुनः साउन ८ गतेदेखि भने बीमाको सबै सेवा स्थगन गर्ने पनि प्रष्ट पारेका छन् । धरानका मेयर हर्क साम्पाङले प्रतिष्ठानका डेपुटी डाइरेक्टर, अस्पताल प्रशासन प्रमुखलगायतलाई बोलाएर साउनभरि सेवा नरोक्न आग्रह गर्दे बीमा बोर्डमा आफूले पनि पहल गर्ने बताएका थिए । साथै उनले बोर्डका कार्यकारी निर्देशकलाई फोन गरेर शोधभर्ना रकम उपलब्ध गराउन पनि आग्रह गरेका थिए । प्रतिष्ठानका अनुसार बोर्डबाट कुल ३४ करोड रुपैयाँभन्दा बढी रकम शोधभर्ना पाउन बाँकी रहेको छ ।