बराहक्षेत्रः नेकपा माओवादी केन्द्रले तीन सय ७३ केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ३ सय ७३ केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

यसअघि माओवादीले प्रतिबद्धता गरेअनुसार समावेशी सहभागितालाई केन्द्रीय समितिमा लागु गरेको पाइन्छ । जसअन्तर्गत महिलाहरूको संख्या ३५ प्रतिशत, दलित १५ प्रतिशत, युवा २० प्रतिशत, मुस्लिम ५ प्रतिशत र अन्य रहेका छन् ।

३ सय ७७ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि चार जनाको नाम खाली राखिएको केन्द्रीय कमिटीमा सुनसरीबाट भने ४ जना मनोनित भएका छन् । संविधानसभा सदस्य अनिता परियार र प्रदेशसभा सदस्यसमेत रहेकी उमिता बराइली  पूर्ण केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै, सपना परियार र जाकिर हुसेन सुनसरीबाट वैकल्पिक केन्द्रीय सदस्य मनोनित भएका हुन् ।

माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ । केन्द्रीय कमिटीको बैठकमा भाग लिने, आफ्नो धारणा राख्न पाउने भएपनि वैकल्पिक सदस्यले मताधिकार प्रयोग गर्न नपाउने माओवादीको विधानमा उल्लेख छ । यसअघि सुनसरीबाट निर्मल बराल, रामकुमारी चौधरी र किरणकुमार राई केन्द्रीय सदस्य रहेका थिए । योसँगै माओवादी केन्द्रले सुनसरीबाट मात्रै ७ जना केन्द्रीय सदस्य पाएको छ ।