इटहरीः २०७६ मङ्सिरमा घरेलु कामको लागि भनेर झापा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीलाई केही व्यक्तिले झुक्याएर भारतको दिल्ली पुर्याएका बखत भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइसँग जानुकाको दिल्लीमै चिनजान भयो । जानुकालाई त्यहाँ जबरजस्ती बन्धक बनाएर काममा लगाएको देखेपछि नरेशकुमारले उनलाई उद्धार गरेर नेपाल ल्याएका थिए । नरेशले उनलाई दिल्लीबाट नेपालसम्म उद्धार गरेर ल्याँउदा ठूलै जोखिम पनि मोलेका थिए ।
भारत गुजरातका तिनै नरेशकुमारको शव असार १२ गते साँझ अर्जुनधारा ४ स्थित स्थानीय खोलमा बोराभित्र हालेर फालेको अवस्थामा भेटियो । सुरुमा नरेशकुमारको सनाखत हुन सकेन । टाउको र शरीरका विभिन्न भागमा चोट भेटिएपछि इलाका प्रहरी कार्यालय अनारामनीका डीएसपी रुगम कुँवर स्वयं घटनाको अनुसन्धानमा लागे ।
अपराध अनुसन्धानमा अब्बल मानिएका कुँवरले शवको सनाखत २४ घण्टामै गर्न सफल भए । पहिचान खुल्नासाथ सुरुमा नरेशकुमार वैशाख ४ गते अवैध ५९ हजार भारुसहित पक्राउ परेको प्रहरी रेकर्डमा भेटियो ।
राजश्व कार्यालय इटहरीमा उनलाई प्रहरीले बुझाएपछि उनी धरौटीमा छुटेका थिए । तर तारेख धाउनुपर्ने भएका कारण नरेशकुमार असार ९ गते इटहरी आएर झापा पुगेको मोबाइल फोनको कल डिटेल्स (सीडीआर) रिपोर्ट देखियो । त्यसको केही दिनअघि नरेश तिनै जानुका सुवेदी, जसलाई उनले भारतको दिल्लीबाट नेपाल उद्धार गरेर ल्याएका थिए उनकै घरमा बास बसेको देखियो ।
तारेख धाउनुपर्ने भएपछि उनी जेठमा जानुकाको घरमा आएर तीन दिन बसेको अनुसन्धानबाट देखियो । उनी ७ असारमा पुनः जानुकाको घरमा आएर बसेका थिए । मृतक नरेशकुमार र जानुकाबीच नजिकको सम्बन्ध भएको सीडीआरबाट देखिएपछि प्रहरीले जानुकामाथि अनुसन्धान केन्द्रित गर्यो । र अनुसन्धानको निष्कर्ष नरेशकुमारको हत्यामा जानुका, उनका श्रीमान विनय भनिने बिर्खबहादुर थापा र सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार संलग्न भएको भेटियो ।
नरेशकुमार, जसले जानुकालाई दिल्लीमा बन्धक बनाएर काममा लगाएको त्यो अवस्थाबाट उद्धार गरेर नेपाल ल्याए, आज उनै जानुकाको योजनामा नरेशले ज्यान गुमाउन पुगे ।
अनारमनीका डीएसपी कुँवरले आइतबार हत्यामा संलग्न जानुका, उनका श्रीमान र सुरेश परियारलाई सार्वजनिक गरेपछि सञ्चारकर्मीलाई भने ‘दुवैको दिल्लीबाटै चिनजान भएपछि, उनीहरू निकट भएकै कारण आर्थिक व्यवहारसमेत भएको देखियो ।’
‘नरेशकुमारले जानुकालाई घर बनाउन आर्थिक सहयोगदेखि बालबच्चालाई कपडासमेत किनिदिन्थे । तर जानुकाका श्रीमान बिर्खबहादुरले दुवैको सम्बन्धमा शंका गर्दै आएका थिए । र घरमा पटकपटक विवादसमेत हुने गर्दथ्यो ।’
यसको थप पुष्टि गदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले पत्रकार सम्मेलनमा भने ‘असार ९ गते घरमै आएका नरेशकुमारले जानुकालाई हात समातेपछि श्रीमान् बिर्खबहादुर र नरेशबीच विवाद भएको थियो । तर त्यो दिन भने बिर्खबहादुरले हत्याको योजना पहिले नै बनाएर सुनसरीका सुरेश परियार र अर्का एक व्यक्तिलाई घरमा ल्याएका थिए ।’
नरेशकुमारको हत्या गरेबापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिने सहमति भएको एसपी पोखरेल बताउँछन् ।
‘हत्यापछि परियारलाई दुई लाख र फरार व्यक्तिलाई एक लाखसमेत दिएको पाइयो’, पोखरेलले भने, ‘हत्यामा संलग्न अर्का एक व्यक्ति अझै फरार छन् ।’ फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन ।
हत्याको दिन नरेशकुमार, बिर्खबहादुर, सुरेश परियार र अर्को व्यक्तिले सँगै बसेर मापसे गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही क्रममा विवाद हुँदा परियार र अर्का व्यक्तिले नरेशकुमारलाई हथौडा प्रहार गर्दै घाँटी थिची हत्या गरेका थिए ।
पछि शव व्यवस्थापन गर्न बोरामा हालेर हत्या भएको स्थानदेखि ३ किलोमिटर पर अर्जुनधारा नगरपालिका ४ स्थित जुकेखाडी – साहसी टोलको भित्री कच्ची सडकको खोलामा शव फालिएको थियो ।