इटहरीः झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युमपाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका सुबेदी थापा, उनका ४९ वर्षीय श्रीमान बिर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
असार १२ गते ह्युमपाइपभित्र सेतो बोरामा अन्दाजी ४० वर्षीय पुरुषको शव दुर्गन्धित अवस्थामा फेला परेसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतीय आधार कार्डको आधारमा उनी भारत अहमदाबाद गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाई रहेको खुल्न आएपछि हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाउपर कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।