इटहरीः विराटनगरका व्यापारीलाई धम्क्याएर पैसा असुल गर्ने गिरोहका २ जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरेको छ ।

बारम्बार फोन र म्यासेज गर्दे विराटनगरका व्यापारी मुकेश शर्मालाई धम्क्याएर पाँच लाख रूपैयाँ माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । १० दिनअघिदेखि निरन्तर फोन र पत्रमार्फत् धम्की दिँदै पैसा असुल गर्न खोज्ने मोरङ्गको पथरीशनिश्चरे घर भएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे–६, हसनदहका २६ वर्षीय विशाल ऋषिदेवलाइ प्रहरीले पक्राउ गरेको हो । व्यापारी शर्मा विराटनगरको तीनपैनीमा रहेको मुकेश अगरबत्ती उद्योगका सञ्चालक हुन् ।

धम्कीका कारण डराएका उनले २५ हजार रूपैयाँ आईएमई गरेर गिरोहलाई पठाइसकेका थिए तर पनि रकम माग गर्दै आउने धम्की आउन नरोकिएपछि व्यापारी शर्मा प्रहरीको शरणमा पुगे । प्रहरीलाई घटनाको सुरुवातदेखिकै सबै कुरा सुनाएपछि प्रहरीले व्यापारी शर्मालाई धम्क्याउँदै पैसा असुल्न खोज्ने गिरोहको खोजी सुरु गर्यो र पक्रन सफल पनि भएको छ । गिरोहका दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको बताएको छ ।

मोरङ्ग प्रहरीका अनुसार धाकधम्की दिएर व्यापारीसँग पैसा असुलेको पत्ता लागेपछि कार्की र ऋषिदेवलाई पक्राउ गरिएको हो । अभियुक्तहरुले धम्कीपूर्ण तरिकाले पत्र पठाएर र फोन गरेर बारम्बार व्यापारीसँग पैसाको ‘बार्गेनिङ’ गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैसा माग्दै खामबन्दी गरेर दुई पटकसम्म पत्रसमेत पठाएको खुलेको छ । उनीहरुले फोनमार्फत् बारम्बार धम्क्याएको पत्ता लागेको छ । 

सुरुमा पाँच लाखको बार्गेनिङ गरेको गिरोहले शर्मासँग २५ हजार रूपैयाँ भने लिइसकेको थियो भने बाँकी रकम प्रहरीको सम्पर्कमा आएपछि शर्माले दिएका थिएनन् । पक्राउ परेकामध्ये ऋषिदेवको नाममा शर्माले शुक्रबार २५ हजार रूपैयाँ आईएमई गरेर पठाएका थिए । आईएमईबाट पैसा निकाल्दै गर्दा ऋषिदेव पक्राउ परेका हुन् । प्रहरीले ऋषिदेवलाई मोरङ्गको हसनदहबाट पक्राउ गरेको हो भने कार्कीलाई लगत्तै विराटनगरबाट पक्राउ गरिएको थियो ।

व्यापारीलाई धम्क्याउने र पैसा असुल्ने घटनाको मुख्य योजनाकार कार्की रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले पैसा माग गरिएको पत्र, आईएमईमार्फत् पठाएको पैसा र त्यससँग सम्बन्धित कागजात बरामद गरिसकेको छ । पक्राउ परेकाविरुद्ध ठगी तथा अपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

khelkud add.