इटहरीः बचतकर्ताले सहकारीमा राखेको रकम दुरुपयोग गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका ६ बाट प्रहरीले सहकारीकै एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही वडामा सञ्चालित कनकलक्ष्मी बचत तथा ऋण सहकारी सँस्था लिमिटेडका २४ वर्षीय सहायक कर्मचारी विवेक भुजेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सहकारीमा जम्मा गरेको रकम आफ्नो खातामा नभएको बचतकर्ताको गुनासोपछि सहकारीका सचिव यामप्रसाद सिग्देलले भुजेलविरुद्ध जाहेरी दिएकाले उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
बचतकर्ताको गुनासोपछि सहकारीका लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल र सचिव सिग्देल सम्मिलित समितिले छानबिन गर्दा अभियुक्त भुजेलले बचतकर्ताको खातामा जम्मा भएको ४६ लाख ८७ हजार नौ सय ८० रूपैयाँ नक्कली हस्ताक्षर प्रयोग गरी आफूखुसी निकालेको पाइएपछि सहाकारीले उनीविरुद्ध जाहेरी दिएको हो । ठगी गरेकोमध्ये १० लाख रुपैयाँ अभियुक्त भुजेलले फिर्ता गरेकाले प्रहरी बाँकी रकमको खोजीमा रहेको छ ।
अभियुक्तउपर सहकारी ठगी अभियोगमा कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । यता, सहकारीका सरोकारवालाहरुले भने सहकारी घोटाला अभियोगमा अभियोजन गरी भुजेलउपर कडा कारबाही गर्न माग गरेका छन् ।