इटहरीः मोरङको रंगेली नगरपालिकास्थित बिर्ता बजारमा आगलागीमा परी एक महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३३ वर्षीया बबिता मण्डल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गएराति घरमा आगलागी भई गम्भीर घाइते भएकी बबितालाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा आज बिहान करिब ६ः०० बजे मृत्यु भएको हो ।

आगलागीमा परी बबिताको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै प्रहरीले उनका पति २३ वर्षीय तिल्का मल्लिकलाई पक्राउ गरी उनले नै घरमा श्रीमतीलाई थुनेर आगो लगाएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ । गएराति ९ः४५ बजे खाना खाने समयमा श्रीमतीसँग विवाद भएको अभियुक्त मल्लिकले स्वीकार गरेका छन् ।

विवाद भएको समयलगत्तै आगलागी भएको र अभियुक्त मल्लिक आगो निभाउनतर्फ नलागी भागेकाले प्रहरीले पतिले नै हत्या गरेको हुनसक्ने अनुमान गरी अनुसन्धान अगाडि बढाएको एसपी राईले बताए । अभियुक्त अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।